फाल्गुण २८, गैंडाकोट । गैंडाकोटमा भएको दोस्रो उप मेयर कप अन्तर मा.वि छात्रा फुटबल प्रतियोगिता २०७५ को उपाधि विजय सामुदायिक शिक्षा सदनले हात पारेको छ ।

गैंडाकोट स्थित क्षेत्रीय रंगशालामा शुक्रबार बाल ज्योति मा.वि.लाई ट्राइबेकरमा २–१ गोल अन्तरले पराजित गर्दै विजय सामुदायिक शिक्षा सदनले उपाधि हात पारेको हो । प्रतियोगितामा प्रथम हुने विजय सामुदायिक शिक्षा सदनले ४० हजार नगद, सिल्ड, मेडल र प्रमाण पत्र हात पा¥यो ।

विजय सामुदायिक शिक्षा सदनकी अनीता नेपाली उत्कृष्ट पेलेअर, विजय सामुदायिक शिक्षा सदनकै छात्रा नीता लामा उत्कृष्ट गोलकिपर घोषित हुनुभयो । उच्च गोलकर्ता विजय सामुदायिक शिक्षा सदनकी छात्रा मनीषा न्यौपाने सम्मानित हुनुभएको थियो ।

गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा जिल्ला फुटबल संघ नवलपरासीका महासचिव लक्ष्मण कार्की, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष हरि पौडेल, गैंडाकोट खेलकुद समितिका उपाध्यक्ष पूर्ण गुरुङ, महिला सञ्जालकी राधा लामिछाने, नेपाल महिला संघकी नगर अध्यक्ष कमला तिवारी लगायतको विभिन्न वडाका वडाध्यक्ष लगायतको उपस्थिति रहेको थियो । समापन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामप्रसाद आचार्यले स्वागत गर्नुभएको थियो ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने अभिप्रायका साथ गैंडाकोट सञ्चालित गैंडाकोट दोस्रो उपमेयर कप अन्तर मावि छात्रा फुटबल प्रतियोगितामा १६ वटा टिमले सहभागिता जनाएको गैंडाकोट महिला फुटबल क्लबकी अध्यक्ष दुर्गा घिमिरेले जानकारी दिनुभयो । गैंडाकोट नगरपालिकाको आयोजना, गैंडाकोट महिला फुटबल क्लबको संयोजन एवं गैंडाकोट खेलकुद समितिको प्राविधिक सहयोगमा प्रतियोगिताको सम्पन्न भएको हो ।

विजेता विद्यार्थीहरु तथा विद्यार्थीका अभिभावकहरुलाई विद्यालयमा सम्मान

यसै बिच विजय सामुदायिक शिक्षा सदनले विजेता विद्यार्थीहरु तथा विद्यार्थीका अभिभावकहरुलाई विद्यालयमा सम्मान सम्मान गरेको छ ।

फाल्गुण २८ गते विद्यालय परिसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम कंडेल, सचिव लक्ष्मण कण्डेल, समिति सदस्य लक्ष्मण कार्की उपस्थित राहेको कार्यक्रममा विजेता विद्यार्थीहरुलाई मेरिटकार्ड, अभिभावकलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका अध्यक्ष टिकाराम कंडेलले विजयी विद्यार्थीलाई बधाई दिँदै विद्यालय यस क्षेत्रमा शैक्षिक गुणस्तरमा मात्र नभै अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट रहेको जानकारी दिनुभएको थियो ।