


बाबुराम पोख्रेल गैँडाकोट, २७ माघ । विजय सामुदायिक शिक्षा सदन गैँडाकोटले आइतबार नयाँ भवनको शिलन्यास तथा विद्याकी देवि सरस्वतीको विशेष पुजा सम्पन्न गरेको छ । भुमि पुजा संस्थाका अध्यक्ष टीकाराम कंडेलले गर्नु भएको कार्यक्रममा हरिहर सन्यास आश्रमका पिठाधिस श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती बाट शिलान्यास भएको थियो। उक्त कार्यक्रममा गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल, उपमेयर विष्णुकुमारी कंडेल बुद्धि जिवि, समाज सेवी, संस्थाका सञ्चालक समिति, लेखा समिति, विजय परिवारका विभिन्न संस्थाका अध्यक्षहरु को उपस्थिति रहेको थियो ।
सरस्वती पूजाको दिन शुभसाइत पारेर नयाँ भवन शिलन्यास कार्यक्रम गरिएको विद्यालयका कार्यकारी प्रमुख खेमराज सापकोटाले बताउनुभयो । गैँडाकोट नगरपालिकाको नयाँ भवन नजिक रहेको प्राथमिक भवन परिसरमा नयाँ भवन बनाउन लागिएको हो । नयाँ बन्ने भवन बाल मैत्री अवधारणा र भूकम्प प्रतिरोधात्मक हुने कार्यकारी प्रमुख सापकोटाले बताउनुभयो । नयाँ भवनमा एक वटा सभाहल सहित १६ वटा कक्षा कोठाको तीन तले भवन बन्नेछ ।
यसै गरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने विद्याकी अधिष्ठात्री देवी सरस्वतीको यस वर्ष पनि पूजा आराधना गरी मनाइएको छ । विद्यालय जान उमेर पुगेका करिब १०० जना साना बालबालिकालाई विद्यालयमा अक्षरारम्भ तथा भर्ना गरिएको विद्यालयका प्रधानाध्यापक रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।