बाबुराम पोख्रेल
गैंडाकोट, १७ वैशाख । विजय सामुदायिक शिक्षा सदनका कक्षा ८ का बिद्यार्थीहरूको नेतृत्वमा मंगलबार समुदायमा सरसफाई गरिएको छ ।

ब्रिटीश काउन्सिलको इन्टरनेशनल स्कूल अवार्ड अन्तर्गतको प्रोजेक्ट नम्बर ८ को “बिट प्लाष्टिक ः आईदर रियुज अर रिड्युस” प्रोजेक्टलाई सफल बनाउन समुदायमा सरसफाई गरिएको हो । प्लाष्टिकका बोतल र प्लाष्टिकका खोलहरूलाई पुनः प्रयोगमा ल्याई त्यसको ब्यवस्थापनमा विद्यार्थीहरू प्रत्यक्ष सहभागि हुनेछन् ।

मंगलबार बिहान बिद्यालयको मा.वि ब्लकको प्राङ्गणबाट सुरु भएको समुदाय सरसफाई कार्यक्रम समुन्नती टोल विकास, मातृभुमी टोल विकास, विजय सामुदायिक शिक्षा सदनको प्राबि ब्लक हँुदै गैंडाकोट नगरपालिका, विजयचोक, विजय विकास स्रोत केन्द्र, विजय एफएम हुँदै पुनः बिद्यालय परिसरसम्म सरसफाई गरिएको थियो । कार्यक्रममा बिद्यार्थी, शिक्षक, जनप्रतिनिधि लगायतले सरसफाई गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै गैंडाकोट वडा नम्बर ५ का वडाअध्यक्ष नवराज कंडेलले प्लाष्टिक प्रयोगलाई निरुत्साहित गर्नमा जोड दिनुभयो । उहाँले बालबालिकालाई नै समुदायप्रति जिम्मेवार बनाउन गरिएको कार्य प्रशंसनीय रहेको बताउँदै बिद्यालयलाई धन्यबाद ज्ञापन गर्नुभयो । वडाअध्यक्ष कंडेलले यस्ता अभियानले गैंडाकोट ५ लाई मात्र नभएर नगरलाई नै पूर्ण सरसफाई नगर बनाउन मद्दत पुग्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नगरकार्यपालिका सदस्य कुमारी रेखा पौडेलले बिद्यालयले गरेको सरसफाई अभियानको प्रशंसा गर्नुभयो । कार्यक्रमले समुदाय स्वच्छ र सफा बनाउन र बिद्यार्थीलाई समुदायप्रति उत्तरदायि बनेको बताउनुभयो ।

बिद्यार्थीहरु बिद्यालयमा किताबी ज्ञान मात्र सिकाउने नभई व्यवहारिक ज्ञान दिन आवश्यक हुनाले बिद्यालयले सरसफाई लगायत अन्य कार्यक्रम गर्दै आएको बिद्यालयका कार्यकारी प्रमुख खेमराज सापकोटाले बताउनुभयो । उहाँले बिद्यार्थी आफैले समुदाय सफा बनाउनुपर्छ भन्ने कुरा सिकेको र समुदाय प्रति बिद्यार्थी उत्तरदायि बनेकोमा खुशी व्यक्त गर्नुभयो ।

त्यस्तै बिद्यालयकी सहायक प्रधानाध्यापक एवम् आइएसए कोर्डीनेटर रेखा श्रेष्ठले सरसफाई कार्यक्रमले मात्र समुदाय स्वच्छ र सफा नहुने भन्दै फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले बिद्यालयले प्लाष्टिकका बोतल र प्लाष्टिक जन्य फोहोरबाट नमूना चौतारो बनाउने पनि बताउनुभयो ।

कार्यक्रममा गैंडाकोट वडा नम्बर ५ का वडा सदस्य पार्वती सापकोटा, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम कंडेल, सञ्चालक समिति सदस्य रत्नप्रसाद सापकोटा, बिभिन्न टोल सुधार समिति, महिला समुहका प्रतिनिधी लगायतले सरसफाई गर्नुभएको थियो ।